हकप्रद सेयर (Right Share) भनेको के हो ?
विगतमा सर्वसाधारणमा साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले विद्यमान शेयरधनीहरुको लागि भबिष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निष्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरुलाई प्राप्त हुन्छ । यसप्रकार पुनः निष्कासन गरिने सेयरमा विद्यमान सेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो सेयरलाई हकप्रद सेयर भनिन्छ । लगानीकर्ताले हकप्रद सेयर खरिद गर्न तोकिएको दरमा मूल्य तिर्नुपर्ने हुन्छ । जस्तैः १ बराबर १ अर्थात १ को अनुपातमा १ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनीबाट एक कित्ताको रु १०० रुपैया तिरेर थप १०० कित्ता सेयर किन्न पाउँछन् । हकप्रद सेयर जारी गर्दा अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ । १:१ को अनुपातलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन भन्ने बुझिन्छ । हकप्रद सेयर सेयरधनीले किन्नै पर्छ भन्ने बाध्यता हुँदैन, पूरै किन्न पनि सक्छ वा आंशिक रुपमा किन्न पनि सक्छ र नकिन्न पनि सक्छ । कम्पनीले हक हस्तान्तरणको व्यवस्था गरेमा आफूले किन्न पाउने हकप्रद सेयर अरु कसैलाई हस्तान्तरण गर्न पनि सक्छ । हकप्रद सेयर जारी गरिसकेपछि कम्पनीको सेयरमूल्य समायोजन भई मूल्य घट्छ । यस्तो शेयर जारी गरे पश्चात कम्पनीको कुल शेयर संख्या बढ्छ तर कुल पूँजीकरण भने जतिको त्यति नै रहन्छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको शेयर मूल्य समायोजन गर्ने सुत्र यस्तो हुन्छ:
`Adjusted Price = (Market Price + (Face Value times Right Share % ))/(1 + Right Share %)`
जस्तैः एउटा कुनै कम्पनीको बुक क्लोज अगाडिको सेयर मुल्य १००० छ उक्त कम्पनीले १:१ (१००%) हकप्रद सेयर जारी गर्ने भएमा बुक क्लोजपछी सेयरको मुल्य रु ५५० हुन्छ ।
`=(1000+(100times1))/(1+1)`
`=550`
हकप्रद सेयर खरिद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान सेयरवालाहरुलाई स्वतन्त्रता हुन्छ । विद्यमान सेयरवालाहरुले आफूले पहिले खरिद गरेको सेयरको अनुपातमा हकप्रद सेयर खरिद गर्ने अधिकार प्राप्त गर्छन् ।
बोनस सेयर (Stock Dividend) भनेको के हो ?
कम्पनीको विद्यमान सेयरधनीहरुलाई बिना कुनै मूल्यमा वितरण गरिने सेयरलाई बोनस सेयर भनिन्छ । यस्तो सेयर कम्पनीको मुनाफा वा बाँड्नयोग्य मुनाफाको रकमबाट वितरण गरिन्छ । बोनस सेयर सामान्यतया सेयरधनीले लिएको सेयर संख्याको आधारमा वितरण गरिन्छ ।
मानौ कुनै लगानीकर्तासंग कुनै कम्पनीको ३०० कित्ता सेयर छ, कम्पनीले ३० प्रतिशत बोनस सेयर दिने निर्णय गरेपछि अब उक्त लगानीकर्तासँग ९० कित्ता सेयर थपिएर ३९० कित्ता सेयर हुन्छ । कम्पनीको पुँजीकरण वृद्धि गर्नका लागि पनि विद्यमान सेयरवालाहरुलाई यस प्रकार सेयर अर्थात बोनस सेयर प्रदान गरिन्छ । बोनस सेयर प्रदान गरिसकेपछि पनि हकप्रद झै कम्पनीको सेयरमूल्य समायोजन भई मूल्य घट्छ । बोनस सेयर प्रदान गरेपछि कम्पनीको शेयर मूल्य समायोजन गर्ने सुत्र यस्तो हुन्छ:
`Adjusted Price = (MP)/(1+Bon us Share %)`
जस्तैः कुनै कम्पनीको प्रति कित्ता सेयरको मूल्य रु १००० छ र उक्त कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गर्यो भने बुक क्लोजपछिको मुल्य निम्नअनुसार हुन्छ ।
`= (1000)/(1+0.30)`
`= Rs. 769.23`
Post a Comment