के हो आइपीओ र एफपीओ ?
कुनै पनि कम्पनीको विकास र विस्तारको लागि थप पुँजी वा लगानीको आवश्यकता पर्दछ । उक्त लगानीको लागि कम्पनीले सर्वसाधारणलाई आफ्नो कम्पनीको केही हिस्सा (शेयर) दिन्छ र त्यसबापत सर्वसाधारणबाट केही रकम लिन्छ। यसरी सर्वसाधारण जनतालाई दिइने शेयर दुई प्रकारको हुन्छ।
१.आइपिओ (Initial Public Offering)
२.एफपिओ (Further/Follow-On Public Offering)
पब्लिक कम्पनीले पुँजी संकलनका लागि प्रथमपटक निश्कासन गरेको सेयरलाई आइपिओ भनिन्छ भने पब्लिक कम्पनीले एकपटक आइपिओ जारी गरिसकेपछि पुनः पुँजी संकलन गर्न फेरि सर्वसाधारणलाई सेयर बिक्री गर्दछ भने त्यसलाई एफपिओ भनिन्छ ।
आइपिओ र एफपिओ निश्कासन गर्न कम्पनीले धितोपत्र बोर्डबाट (Securities Board of Nepal-SEBON) स्वीकृत लिनुपर्छ । त्यसपश्चात उक्त कम्पनीले सेयर (IPO वा FPO) निश्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाएको निस्कासन तथा बिक्री प्रबन्धकको नियुक्ति गर्दछ । बिक्री प्रबन्धकलाई मर्चेन्ट बैंक पनि भनिन्छ जस्तैः सानिमा क्यापिटल, एनमबी क्यापिटल, सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेन्ट, एनआईसि एशिया क्यापिटल आदि । । यी संस्थाले कम्पनीको सेयरको निस्कासनको सम्पूर्ण जिम्मा लिने गर्दछन् ।
यसरी आईपीओ वा एफपिओ को माध्यमबाट कम्पनीले आफ्नो शेयर बिक्री गर्नुपर्ने तीन वटा कारण हुन्छन् ।
१. नियामक निकाय वा सरकारले विभिन्न प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादनमूलक कार्य गर्ने कम्पनीहरूले लाभ आर्जन गर्दै गर्दा स्थानीय जनताले पनि लाभ पाउन सकून् भनेर नीतिनिर्माण गर्दैका बखत नै आइपीओ जारी गर्नुपर्ने नियम बनाएका हुन्छन् । यसको उदाहरण जलविद्युत् कम्पनी हुन् ।
२. दोस्रो, वित्तीय क्षेत्रका कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने कानूनमै लेखिएको हुन्छ । यी कम्पनीहरूले सर्वसाधारणबाट निक्षेप, बीमा प्रिमियम वा अरू किसिमबाट रकम संकलन गरी पुनः लगानी गर्ने भएकाले पब्लिकको निगरानीमा हुनुपर्छ भन्ने मान्यतामा यस्तो नियम बनाइएको हुन्छ । बैंक, वित्त र बीमा कम्पनी यसका उदाहरण हुन् ।
३.कम्पनीले आफ्नो व्यवसाय अगाडि बढाउने क्रममा थप पूँजीको आवश्यक भएमा शेयर बिक्री गर्छन् । बाध्यकारी नियम नहुँदा पनि जलविद्युत्, बैंक, बीमा बाहेकका कम्पनी यसै उद्देश्यले पूँजी बजारमा आउछन् ।
आइपीओ वा एफपिओ दुई प्रकारको हुन्छ ।
१. General IPO/FPO
२. Premium IPO/FPO
सामान्यतया एक कित्ता आइपीओ वा एफपिओको मूल्य रु १०० हुन्छ । अंकित मूल्य रु १०० भएको आइपीओ वा एफपिओलाई General आइपीओ वा एफपिओ भनिन्छ । त्यसैगरी कुनै कुनै कम्पनीको एक कित्ता आइपीओ वा एफपिओको मूल्य एकसयभन्दा बढी हुन्छ, जसलाई Premium आइपीओ वा एफपिओ भनिन्छ । विगत तीन बर्षसम्म नाफा आर्जन गर्न नसकेको कम्पनीले प्रिमियममा एफपिओ जारी गर्न पाउँदैन ।
कुनै पनि कम्पनीले आइपिओ र एफपिओ निष्कासन का लागि दर्खास्त लिने कार्य बिक्री खुल्ला भएको मितिबाट सामान्यतया न्युनतम चार दिन र अधिकतम पन्ध्र दिनसम्म राखेका हुन्छन् । लगानीकर्ताले यो समयभित्रमा आईपिओ र एफपिओ खरिद गरिसक्नु पर्छ । आईपिओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिन्छ । तर बुक बिल्डिङ्ग विधिबाट निष्कासित आइपीओमा न्युनतम ५० कित्ता आवेदन दिन सकिन्छ।
आईपीओमा कोटा प्रणाली
• Foreign Employee Quota (वैदेशिक रोजगार कोटा) : नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९ लागू गर्दै यस्तो कोटाको व्यवस्था गरेको हो। यो नियमानुसार संगठित संस्थाहरुले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्नु अगावै सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था छ ।
•General Public Quota (सर्वसाधारण कोटा): यो कोटा अन्तर्गत नेपालमा बसोबास गर्ने सम्पूर्ण नेपाली पर्दछन । यस कोटामा पर्ने लगानीकर्ताले देशको जुनसुकै कम्पनीको आइपीओ खरीद गरी सो कम्पनीमा लगानी गर्न सक्ने छन्।
•Local IPO Quota (स्थानीय कोटा) : यो कोटा अन्तर्गत कुनै पनि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू पर्दछन । यस कोटामा अनुसार कुनै पनि आयोजना सञ्चालन भएको क्षेत्र वरपरका स्थानीय बासिन्दाहरुले सोही आयोजनामा लगानी गर्न पाउने छन् ।
को हो बुक बिल्डिङ निष्काशन प्रणाली ?
यो विधि अन्तर्गत निष्काशन गर्ने कम्पनीले जारी गर्न लागेको कुल शेयरको ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्छन् । यसरी बिक्री गर्दा पहिलो चरणमा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरूले आवेदन दिएको मूल्य र शेयर संख्यालाई माथिल्लो मूल्यबाट बाँडफाँट गर्दै आउँदा जुन मूल्यमा सबै शेयर बिक्री हुन्छ त्यसलाई कट अफ मूल्य घोषणा गर्छ । यसरी कट अफ मूल्यभन्दा माथिको मूल्यमा आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरूले मागेको शेयर कट अफ मूल्यमा पाउँछन् । यसपछि बाँकी रहेको ६० प्रतिशत शेयरलाई माथिको विधि अनुसार कायम भएको कट अफ मूल्यबाट १० प्रतिशत छुट दिई सर्वसाधारणलाई बिक्री गरिन्छ । बुक बिल्डिङ विधिबाट शेयर निष्काशन हुँदा लगानीकर्ताले प्रिमियममा निष्काशन झैं चुक्ता मूल्यमा थप मूल्य भुक्तान गरेर आवेदन दिनुपर्छ ।
के हो त DEMAT (BOID) खाता?
DEMAT खाताको पूरा रूप Dematerialization Account हो। डिम्याट खाता भनेको शेयर राख्नको लागि आवश्यक हुने खाता हो । बैंक खातामा पैसा जम्मा गर्न सकिन्छ भने डिम्याट खातामा शेयर जम्मा गर्न सकिन्छ । डिम्याट खाता बैंक तथा वित्तीय संस्था र ब्रोकर कम्पनीको कुनै पनि शाखामा गएर खोल्न सकिन्छ । प्राथमिक बजारबाट आईपिओ र एफपिओ खरिद गर्न डिम्याट खाता र बचत खाता अनिवार्य रुपमा खोलेको हुनु पर्दछ । यो खाता संचालन गर्न प्रत्येक आर्थिक वर्षको अन्त्यमा खातावालले वार्षिक १०० रुपैयाँ आफ्नो DP लाई बुझाउनुपर्छ । यहाँ DP (Depository Participant) भन्नाले आफ्नो Demat खाता रहेको बैंक, वित्तीय संस्था वा ब्रोकरलाई बुझ्नुपर्छ ।
DEMAT खाता १६ अंकको हुन्छ (जस्तै १३०१०४०००१२३४५६७) जसमा पहिलो ८ अंकले DP ID लाई बुझाउँछ भने अन्तिमको ८ अंकले Client ID लाई जनाउँछ ।
के हो त Meroshare खाता?
आइपीओ वा एफपिओ भर्न Meroshare खाता पनि आवस्यक पर्दछ। यस्तो खाता सी–आस्वा प्रणालीमा आधारित हुन्छ । ईन्टरनेटको माध्यमबाट घरमै बसी बसी कम्प्युटर तथा मोबाईल डिभाइसबाट सेयर आवेदन दिन सकिने व्यवस्थालाई सी–आस्वा (Centralised Applications Supported by Blocked Amount-CASBA) प्रणाली भनिन्छ । यो प्रणालीबाट सेयर आवेदन दिन लगानीकर्ताले आफ्नो बैंक खाता भएको बैंकमा गएर सुरुमा सी–आस्वा प्रणालीको एक्सेस(सुविधा) लिनलाई आवेदन दिनु पर्छ । आवेदन भेरीफाइ भएपछि बैंकले लगानीकर्तालाई एउटा नम्बर दिनेछ, जसलाई सिआरएन(CASBA Registration Number -CRN) भनिन्छ जुन शेयरको आवेदन दिँदा आवस्यक पर्छ। यहि कोड नम्बर प्रयोग गरी लगानीकर्ताले बैंकमा नगई हरेक पटक आईपिओ र एफपिओ घरमै बसेर जुनसुकै समयमा भर्न सक्नेछन् । अहिले सबै बाणिज्य बैंक र केही अन्य वित्तीय संस्थाले यो सुविधा प्रदान गरिरहेका छन् ।
सी–आस्वा प्रणाली प्रयोग गरी शेयरको लागि आवेदन दिन बैंक तथा वित्तीय संस्था वा ब्रोकरको मा गई MEROSHARE भन्ने सफ्टवेयरको लागि आवेदन दिनु पर्छ । मेरोसेयरको आवेदन दिसकेपछि बैंक वा वित्तीय संस्थाले ईमेलमा Username (Client ID) र Password पठाइदिन्छ । ईमेलमा Username र Password आइसकेपछि मेरोसेयर एपमा log in गरेर नयाँ पासवोर्ड र पिन राख्नुपर्छ । मेरोशेयर खाता संचालन गर्न खातावालले वार्षिक ५० रुपैयाँ DP लागि बुझाउनुपर्छ ।
त्यसोभए लगानीकर्ता बन्न के गर्नुपर्छ त?
कुनै पनि आइपीओ वा एफपिओको लागि घरबाटै आवेदन दिन मिल्ने बनाउन लगानीकर्ताले नजिकको बैंक तथा वित्तीय संस्थामा गई DEMAT खाताको फाराम, बैंक (बचत) खाताको फाराम, सिआरएन फाराम र Meroshare को फाराम भर्नुपर्ने हुन्छ । Demat खाता र Meroshare खाता भने ब्रोकरकोमा गएर पनि खोल्न सकिन्छ, तर बैंक खाता खोल्न र CASBA फाराम भर्न भने बैंक नै जानुपर्ने हुन्छ ।
याद राख्नुहोला तपाईंको खाता जुन बैंकमा छ त्यही बैंक बाट मात्र CASBA फाराम भरी CRN लिन मिल्छ। तर DEMAT र Meroshare खाता भने जुनसुकै DP (बैंक, वित्तीय संस्था वा ब्रोकर) बाट खोल्न सकिन्छ ।
समग्रमा, लगानीकर्ता बन्न के कस्ता शुल्क तिर्नुपर्छ त ?
१. DEMAT वार्षिक नवीकरण शुल्क रु १००/-
२.Meroshare वार्षिक नवीकरण शुल्क रु ५०/-
३. CASBA शुल्क रु ५ प्रति आवेदन (यस्तो शुल्क प्रत्येक पटक आइपीओ वा एफपिओको आवेदन दिँदा बैंकले लिने गर्छन् । कुनै कुनै बैंकले यस्तो शुल्क लिँदैनन् ।)
कुन कुन बैंकले लिन्छन त सि-आस्वा (CASBA) चार्ज ?
Share बजारमा प्रयोग हुने केही Technical Terms | All about the terms used in Share Market |
कसरी दिने त आइपीओ वा एफपिओको लागि आवेदन ?
आइपीओ वा एफपिओको आवेदन आश्वा सदस्य बैंकमा स्वयं उपस्थित भई दिन सकिन्छ यसको अलावा Meroshare एप बाट पनि आवेदन दिन सकिन्छ। आइपीओ वा एफपिओको आवेदन दिन Meroshare गई निम्न प्रक्रिया अपनाउन सकिन्छ ।
एप मार्फत आवेदन दिनको लागि,
•सबैभन्दा पहिले Meroshare एप मा login गर्नुहोस् ।
•त्यसपछि 'My ASBA' भन्ने Option मा क्लिक गर्नुहोस् ।
• अब 'Apply for issue' भन्ने सेक्सनमा तपाईंले आवेदन दिन मिल्ने शेयरको सूची देखाउँछ ।
• अब आफूले आवेदन दिन चाहेको शेयरको 'Apply' भन्ने option मा क्लिक गर्नुहोस्।
• यसपछि, आफूले आवेदन दिन चाहेको कित्ता संख्या र CRN नम्बर राखी 'Proceed' मा क्लिक गर्नुहोस् । (CRN थाहा नभएको हकमा आफ्नो बैंक मा email वा phone गरी सोध्न सकिनेछ । केही बैंकहरुको हकमा Mobile Banking App बाट पनि CRN थाहा पाउन सकिन्छ ।)

• अब सेयर आवेदन सफल भएको मेसेज देखाउनेछ।
Web मार्फत आवेदन दिनको लागि,
•सबैभन्दा पहिले Meroshare को web मा login गर्नुहोस् ।

•त्यसपछि बायाँ पट्टी को Top मा रहेको तीनओटा लाइनमा क्लिक गर्नुहोस्।
•त्यसपछि 'My ASBA' भन्ने Option मा क्लिक गर्नुहोस् ।

•अब 'Apply for issue' भन्ने सेक्सनमा तपाईंले आवेदन दिन मिल्ने शेयरको सूची देखाउँछ ।
• यसपछि बैंकको नाम र बैंक खाता रहेको शाखा राखी आफूले आवेदन दिन चाहेको कित्ता संख्या र CRN नम्बर राख्नुहोस् र 'Proceed' मा क्लिक गर्नुहोस् अनि Transaction PIN राखी 'Apply' मा क्लिक गर्नुहोस् ।
Note: आइपीओ Apply गर्नु अघि Share को प्रकार 'Ordinary Share' भए नभएको यकिन गर्नुहोला र 'Ordinary Share' भए मात्र आवेदन दिनुहोला ।
यति गरेको केही समयपछि तपाईंको बैंक खातामा रहेको पैसा रोक्का हुनेछ र तपाईंलाई शेयर परेको खण्डमा रोक्का भएको पैसा निष्कासन कर्ताको खातामा जानेछ र नपरेको खण्डमा पैसा फिर्ता हुनेछ। समान्यतया आइपीओको नतिजा आवेदन बन्द भएको १ देखि २ हप्तामा आउने गर्दछ ।
आइपीओ को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।
आइपोको नतिजा आएको करीब १ महिनामा उक्त कम्पनीको शेयर Nepse मा लिस्टेड हुन्छ र कारोबार गर्न मिल्छ । Promoter र स्थानीय शेयरको हकमा नेप्सेमा लिस्टेड भएको ३ वर्षसम्म शेयर किनबेच गर्न पाइँदैन ।
NEPSE मा SHARE कसरी बिक्री गर्ने ? A full guide to sell Stocks in NEPSE.










Post a Comment